बैठकमा अनुपस्थित सांसदसंग नेकपाले स्पष्टिकरण माग्यो
३ अषाढ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गत शनिबार ऐतिहासिक संसद बैठकमा उपस्थित नहुने सांसदलाई स्पष्टिकरण सोधेको छ।प्रतिनिधि सभाले शनिबार नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। सोही दिनको बैठकमा अनुपस्थित सांसदलाई नेकपाले स्पष्टिकरण सोधेको हो।
किन बैठकमा आउन सकिएन? भन्दै स्पष्टिकरण सोधिएको नेकपा प्रमुख सचेतक देव गुरूङले बताए।‘यो पार्टीको स्वभाविक प्रक्रिया हो’, उनले भने।आफूहरूसँग ५ दिनभित्र स्पष्टिकरण माग गरिएको नेकपा सांसद शिवकुमार मण्डलले सेतोपाटीलाई बताए।‘पार्टी अनुशासन अनुसार कारण सोध्नु अनिवार्य हो र यो नियमित प्रकिया पनि हो। जे कारणले अनुपस्थित भए पनि हामीले कारण खुलाउनु पर्छ।’
गत शनिबारको बैठकमा नेकपाका ४ सांसदसहित १२ जना अनुपस्थित थिए। नेकपाका सांसदहरू गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल बैठकमा अनुपस्थित थिए।