झापाको हल्दिवारीमा कुटाकुट


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ११ २०७७
8.1K
SHARES

११ असार काठमाडौँ । झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् ।उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् ।अध्यक्ष लिङ्गदेनले गाउँसभा विथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेवल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको बताए ।

उनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।यद्यपि, गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा भने अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको बताउँछन् ।

उनले अध्यक्ष लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट आक्रमण भएको भन्ने आरोपको औचित्य पुष्टि गर्न पनि चुनौति दिए ।गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा गरेको अर्का एक जनप्रतिनिधि बताउँछन् । उनका अनुसार ज्ञापन पत्र लिएर आउने व्यक्ति कार्यपालिकामा संलग्न थिएनन् ।विवाद भएपछि अध्यक्ष लिङ्गदेन सभा बिसर्जन समेत नगरी बाहिरिएका थिए । त्यसपछि उपाध्यक्ष डम्बर गिरीको अध्यक्षतामा सभा सञ्चालन भएको थियो ।हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ ।