बहुमतले कारबाही गर्न प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती
२५ असार काठमाडौं । आन्तरिक विवाद समाधानको प्रयासमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि ‘वान अन वान’ वार्ता हुँदै आएको छ । तर बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताएका छन् ।स्रोतका अनुसार प्रचण्डले बुधबार विहानै पार्टी महासचिव विष्णु पौडेललाई पनि सडकमा भइरहेको प्रदर्शनमा सहभागी नहुन सर्कुलर गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री सहमत नभएका कारण सर्कुलर जारी भएन ।
अपराह्न भएको भेटमा प्रचण्डले सडक प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका थिए । तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न लागेपछि युवा र विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै रोक्नु नपर्ने बताएका छन् ।१६ असारमा बसेको स्थायी कमिटी बैठकमा नेकपामा वरिष्ठ नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन हुन थालेको थियो । बुधबार उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ, जसमा युवा संघका नेताहरू समेत सहभागी थिए ।