बाराका कोरोना संक्रमितको वीरगञ्जमा ज्यान गयो


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १७ २०७७
4.5K
SHARES

१७ भदौ काठमाडौं । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का ९७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइसीयूमा उपचाररत ती पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए । मुटुका रोगी रहेका ती पुरुषमा निमोनिया भएपछि भदौ १२ गते वीरगन्जकै तराई अस्पतालमा भर्ना गरिएको थियो।कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भदौ १४ गते गण्डक अस्थायी कोभिड अस्पतालमा रिफर गरिएको थियो ।

शरिरमा सोडियमको मात्रा कम रहेको र निमोनियाले पनि ग्रस्त रहेका उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको डाक्टर नीरज सिंहले जानकारी दिए । योसँगै वीरगन्जमा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।साउन यतामा मात्रै ५१ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ५५ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ३९ जना , बाराका १२ जना र रौतहटका ४ जना रहेका छन् ।