करिब ४ हजार सुरक्षाकर्मी कोरोनाबाट संक्रमित


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७
3.2K
SHARES

२५  भदौ काठमाडौं । मुलुकमा दैनिक शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी पाएको नेपाल प्रहरीका २ हजार ३१७ जना जवान र अधिकृतहरु कोभिड–१९ (कोरोना) भाइरसबाट संक्रमित भएका छन् ।उपत्यकामा सुरक्षा इकाइको कमाण्ड गरिरहेका दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित करिब ८ सय प्रहरी संक्रमित छन् । यसले सुरक्षा व्यवस्थामै चुनौति पुर्‍याउन सक्ने आकलन गर्न थालिएको छ । हाल संक्रमित प्रहरी कमाण्डरले आइसोलेसनबाटै पनि काम गरिरहेका छन् ।

उपत्यकाका एक युनिटका कमाण्डरले आइसोलेसनबाटै मातहतका प्रहरीलाई निर्देशन दिने गरेको  बताए । ब्यारेकमै आइसोलेसनमा बसेका उनले सेटबाटै शान्ति, सुरक्षाको मोनिटरिङ गर्छन् भने फोनबाट अपरेशनमा खटाउँछन् ।कार्यालयका झण्डै आधा जनशक्ति संक्रमित भएपछि नजिकै रहेका प्रहरी कार्यालयले पनि उनलाई सहयोग गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका तत्कालीन प्रमुख एसपी विमलराज कँडेलले पनि संक्रमित  हुँदा आइसोलेसनबाटै जिल्लाको कमाण्ड गरे । तर, संक्रमण दर बढ्दै जाँदा फिल्डमा खटिने प्रहरीकै अभाव हुनु चुनौतिपूर्ण रहेको अधिकृतहरु बताउँछन् ।हालसम्म नेपाली सेनामा पनि ७ सय ४३ जना र सशस्त्र प्रहरी बलमा ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ

गण्डकी प्रदेशका प्रमुख डीआईजी घनश्याम अर्याल पनि संक्रमित छन् । स्याङ्जा गएर आएको टोलीका प्रहरीमा पहिले संक्रमण देखिएको थियो । त्यसपछि भएको कन्ट्याक ट्रेसिङमा अन्य व्यक्तिमा पनि संक्रमण पाइएको थियो ।प्रस्तुत घटनासहित हालसम्म मुलुकभर २३ सय १७ जना प्रहरी अधिकारीमा संक्रमण पुष्टि भइसकेको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । संक्रमणको बढ्दो दरसँगै प्रहरी मुख्यालयले संक्रमित प्रहरीको संख्या सार्वजनिक नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

हाल मुख्यालयले पनि सक्रिय संक्रमितको विवरण मात्र दिइरहेको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा मात्रै ८४ र उपत्यकामा ६६४ जना कोरोना भाइरसका सक्रिय संक्रमित छन् । प्रदेश १ मा २१६, २ मा ६८, बागमतीमा ६९, गण्डकीमा ८३, ५ नं. प्रदेशमा १०८ र सुदुरपश्चिममा १७ प्रहरी गरी एक हजार ३ सय ५० जना सक्रिय संक्रमित प्रहरीमा छन् । कुल संक्रमितमध्ये ९६७ जना निको भइसकेको एक तथ्यांकले देखाउँछ ।

प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतका अनुसार संक्रमण दर बढेसँगै सर्वसाधारणमा भय पैदा नहोस् भनेर संक्रमणबाट निको भइसकेका व्यक्तिको संख्या सकेसम्म सार्वजनिक नगर्ने नीति लिइएको छ ।