प्रदेश नं २ मा सत्तारुढ दल नेकपामा विवाद
७ असाेज काठमाडौँ । प्रदेश नं २ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पुनः विवाद देखिएको छ । प्रदेश पार्टी अध्यक्षले पार्टीको विधान विपरीत बारा जिल्लाका नगर तथा गाउँपालिकाहरुमा अध्यक्ष तथा सचिव मनोनयन गरेपछि विवाद सिर्जना भएको हो ।
नेकपाका केन्द्रिय कमिटि सदस्य तथा जिल्ला सह-इञ्चार्ज डा. गोपाल ठाकुरले उक्त विधान विपरीत भएको मनोनयन रोक्न केन्द्रिय संगठन विभागलाई आग्रह गरेका छन् । गत २०७६ पुष १५ गते बसेको बारा जिल्लाका नेकपा पदाधिकारी तथा जिल्लाको केन्द्रिय सदस्यको बैठकले गरेको मनोनयनलाई बेवास्ता गर्दै प्रदेश अध्यक्ष तथा सचिवले मनोमानी ढंगले संयोजक तथा सचिवको नाम मनोनयन गरेका हुन् ।
ठाकुरले पेश गरेको निवेदनअनुसार सिम्रौनगढ नगरपालिकाको अध्यक्षमा ताराभन्द्र शाहलाई मनोनयन गर्ने जिल्लाको सर्वसम्मतले गरेको निर्णयलाई वेवास्ता गर्दै उनकाे स्थानमा यही भदौ २८ मा प्रदेश अध्यक्ष तथा सचिवद्वारा हस्ताक्षरित परिपत्रमा श्यामकिशोर यादवको नाम उल्लेख छ । यस्तै, महागढीमाई नगरपालिकामा जिल्लाबाट निर्णय भएका अध्यक्ष शिव महतोलाई विस्थापित गर्दै प्रह्लानी सहनीको नाम राखिएको छ ।
भदौ २८ मा प्रदेश अध्यक्ष तथा सचिवद्वारा हस्ताक्षरित परिपत्र-

कैयामाई गाउँपालिकामा जिल्लाको सर्वसम्मत निर्णयले मनोनित सचिव मिश्रीलाल सहनीको स्थानमा रामशुरेस यादवको नाम उल्लेख छ । यस्तै, पंचरौतामा मनोनित सचिव विरेन्द्र यादवलाई विस्थापित गर्र्दै मंगनी मुखियाको नाम उल्लेख छ । कलैया उपमहानगरपालिकामा मनोनित सचिव धुरी शाहको ठाउँमा मुकेश शाहलाई राखिएको छ । यस्तै,प्रसौनी नगरपालिकामा पनि मनोनित सचिव विजय शाहलाई विस्थापित गरी विनोद पटेलको नाम उल्लेख गरिएको छ ।
ठाकुरले पार्टीको औपचारिक बैठक नबसी विधान विपरीत मनोनयन भएको भन्दै बदर गर्न माग गरेका छन् । यस्तै उनले बिहीबारको लागि तय भएको सचिवहरुको शपथ ग्रहण कार्यक्रम पनि रोक्न माग गरेका छन् ।
जिल्ला सह-इञ्चार्ज डा. ठाकुरको निवेदन-


