कांग्रेस सांसदहरुलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाकाे निर्देशन


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ३ २०७७
19.2K
SHARES

३ कात्तिक काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले  भने, ‘यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर हामी संसद सदस्यहरुलाई नेपाली कांग्रेस पार्टीको निर्देशन छ । हामी त्यहीअनुसार गर्छौं ।’नेता खाँणले अगाडि भने, ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’

सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।

‘अकालमा कसैको मृत्यु नहोस्, सबै नागरिकको जीवन रक्षा होस् । त्यसका लागि सरकारले उत्तरदायित्व र जिम्मा लिनैपर्छ, पन्छिन पाउँदैन,’ नेता खाँणले अनलाइनखबरसँग भने, ‘यो कोभिड–१९ को परीक्षण तथा उपचार गर्ने जिम्मेवारी आम नागरिककै हो भनेर भन्नु पूर्णत गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको ठहर्छ ।’ उनले यस्तो निर्णय फिर्ता गर्न सरकारसँग माग गरे ।