काठमाडौंको मैतीदेवीमा नेचर सुपरमार्केटकाे शुभारम्भ


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७
12.7K
SHARES

२६ कार्तिक काठमाडौं । काठमाडौंको मैतीदेवीमा व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले लगायतले सुपरमार्केटकाे उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै महानिर्देशक सुवेदीले एकै ठाउँबाट खाद्यान्न, ग्रोसरी र ग्यास उपलब्ध गराउने गरी सुपरमार्केट सञ्चालनमा आउँदा उपभोक्ताहरु लाभान्वित हुने बताए । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात गरिएको हो ।
बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको सुपरमार्केटका अध्यक्ष जनक धामीले बताए । उपभोक्ताहरुको चाहना अनुसार काठमाडौं उपत्यका भर होम डेलिभरीको सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए । उनका अनुसार रु २५०० सय रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने ग्राहकलाई काठमाडौ उपत्यका भरी निशुल्क हाेम डेलिभरीकाे ब्यावस्था गरिएको छ ।

मैतीदेवीबाट व्यावसायिक सुरुवात गरेको नेचर सुपरमार्केटका शाखाहरु काठमाडौं उपत्यकाभर विस्तार गरिने धामीले जानकारी दिए । ‘स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गर्ने तयारीमा छौं,’ उनले भने, ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ ।’ उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने उनले जानकारी दिए ।

बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने क्रममा नेचर सुपरमार्केट प्रा.लि.को स्थापना भएको धामी बताउँछन् । ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

सर्वसुलभ र गुणस्तरीय सामानहरु उपभोक्तामाझ पुर्याइने प्रा.लि.का सञ्चालक सदस्य तारामान धामीले बताउँछन् । ‘उपभोक्ताको सहजताका लागि होम डेलिभरीको सुविधा उपलब्ध हुन्छ,’ उनले भने, ‘अनलाइनको माध्यमबाट सामान अर्डर तथा भुक्तानी गर्न सकिनेछ ।’ सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गराइ उपभोक्ताको विश्वास जित्न प्रा.लि. प्रतिबद्ध रहेको प्रवन्धक सुभेक्षा धामीले बताइन् ।