ओलीले मलाई दुई नम्बरी बनाई दिए – अध्यक्ष प्रचण्ड
काठमाडौं, १५ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि अन्याय गरेको बताएका छन् । पार्टी एकतापछि आलोपालो अध्यक्षता गर्ने भनिएपनि ओलीले कहिल्यै पनि आफूलाई अध्यक्षता गर्न नदिएको अनुभव सुनाउँदै प्रचण्डले पार्टी एकताको एक महिनामै छलछाम गरेको जानकारी पाएको बताएका छन ।
उनले भने, ‘माधवजीलाई ४ जिल्लामा सीमित गर्ने ओलीको योजना रहेछ, मलाई पनि अन्याय गर्दै गएपछि माधवजी र म एक ठाउँमा भयौं, मैले माधवजीलाई समर्थन गर्न थालेँ ।’पार्टी एकतापछि केपी ओलीले आफूलाई दुई नम्बरी बनाइदिएको उनको टिप्पणी छ । शिक्षकहरुको भेलालाई शनिवार सम्बोधन गर्दै प्रचण्डले ओलीले बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताएका छन ।
भेलामा प्रचण्डले भने, ‘अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एक दिन पनि मानेन् । तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुई नम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुई नम्बरी ।’
अर्को प्रसंगमा प्रचण्डले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाईँ नै हो भनेर ल्याएको बताएका छन । तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत सुनाएका छन ।