मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण
२२ वैशाख पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको एन्टिजेन परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो।
उनले मंगलबार पीसीआर परीक्षणसमेत गराएका छन्। त्यसको रिपोर्ट आज आउने जनाइएको छ।मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा कोरोना संक्रमण देखिएको छ। उनी तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन्।
यसअघि न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका थिए। मुख्यमन्त्री गुरुङले यही वैशाख १४ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो।
उनी मंगलबार सर्वदलीय बैठकमा सहभागी थिए। संक्रमण बढिरहेकोले जेठको पहिलो साता मात्र कार्यव्यवस्थाको बैठक राखेर प्रदेशसभा बैठक डाकिनुपर्ने उनले भनेका थिए। गण्डकी प्रदेशसभा वैशाख १५ गतेबाट बस्न सकेको छैन।
विशेष अधिवेशनको तेस्रो बैठकमा सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमा मतदान नहुँदै बैठक स्थगित गरेका थिए। अब सदन कहिले खुल्छ भन्ने नै अन्योल छ। बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने जनाइएको छ।