उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी हुदै
२८ वैशाख काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १० गतेसम्मका लागि थप्ने तयारी भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकाका मेयरहरूसँग छलफल गरी उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएपछि निर्णय हुनेछ । यसका लागि आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लोपटक थप भएको अवधि यही २९ गते सकिंदै छ ।
कोभिड–१९ को दोस्रो चरणको संक्रमण बढेपछि मन्त्रिपरिषद्ले धेरै संक्रमित भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निषेधाज्ञा लगाउने अधिकार दिएको छ । संक्रामक रोग नियन्त्रण ऐन–२०२० अनुसार पनि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय गर्न सक्छन् ।
त्यसैगरी, सो बैठकले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यकतााअनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालनमा ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
कोभिड परीक्षण गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्धारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय गरेको छ । द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ । टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन महानगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।
कतिपय निजी अस्पतालले बढी शुल्क लिइरहेको गुनासोको सम्बोधन गर्न अनुगमन प्रभावकारी बनाउने र उपत्यकामा कोभिडविरुद्धको खोप अभियान चलाउन सबै वडा कार्यालयमा निश्चित समय तोकेर जेठ २ गतेदेखि भीडभाड नहुने गरी सञ्चालन गर्ने निर्णय डीसीसीएमसीले गरेको छ ।