अबका २ हप्ता निकै संवेदनशील छ – डा. पाण्डे
डा. रवीन्द्र पाण्डे / नेपालमा अहिले कोरोना महामारीको दोस्रो लहरले अकल्पनीय स्थिति आएको यहाँहरूलाई अवगत नै छ। आगामी दुई हप्ता निकै संवेदनशील देखिएको छ। हामीकहाँ अक्सिजनको माग र आपूर्तिको सन्तुलन नमिलेको हुँदा अस्पतालहरू निकै कठिन अवस्थामा छन्।
१. अक्सिजनको अभावः नेपालमै अक्सिजनको चर्को अभाव भएको हुँदा यहाँ अक्सिजन किन्न पैसा पठाएर त्यसको खास अर्थ छैन। तसर्थ जति सकिन्छ, दूतावास / एनआरएन आदि संस्थासँग समन्वय गरेर अक्सिजन सिलिन्डर तथा कन्सन्ट्रेटर जति छिटो सकिन्छ, उतैबाट खरिद गरेर पठाउनुहोला। अक्सिजन पर्याप्त नभएमा अस्पताल वा आइसोलेसन सेन्टरमा बेड थपेर खासै उपलब्धि नहुने देखिन्छ। अक्सिजनको पर्याप्तता भए सबै अस्पतालमा अधिकांश बेड कोभिडको लागि छुट्याउन सकिन्छ।
अक्सिजन भरिएका सिलिन्डर पठाउँदा एकातर्फ तत्काल अक्सिजन दिएर धेरै संक्रमितलाई बचाउन सकिन्छ भने अर्को तर्फ अक्सिजन सकिएपछि ती रित्ता सिलिन्डरलाई अक्सिजन प्लान्टबाट रिफिल गर्न सकिन्छ। हामीकहाँ करिब ६ हजार सिलिन्डर भएको तर १५ हजार सिलिन्डर आवश्यक छ। कतै अक्सिजनको कमी देखिएको छ भने कतै सिलिन्डरको अभाव देखिएको छ।
२. मेडिकल सामग्री तथा उपकरणः भेन्टिलेटरको सीमितताको अर्को समस्या बनेको छ। जति छिटो सकिन्छ। भेन्टिलेटर, ओरिजिनल एन ९५ मास्क, पिपिई, पंजा लगायत सामग्री संस्थागत रूपमा खरिद गरेर पठाउनुपर्ने अवस्था देखिएको छ। यो एकल प्रयासबाट सम्भव छैन। संस्थागत रूपमा व्यवसायीबाट यो सम्भव छ। हामी कहाँ गम्भीर बिरामीमध्ये १३३४ आइसीयु, ३७१ भेन्टिलेटरमा रहनुभएको छ। संक्रमित मध्ये ७.९ % अस्पतालमा तथा अन्य होम आइसोलेसनमा हुनुहुन्छ। भेन्टिलेटरको अभाव अर्को समस्या बनेको छ। यस पटक सबैभन्दा धेरै २२ देखि ४४ वर्षका अनि ५० देखि ५४ वर्ष उमेरका व्यक्ति संक्रमित हुनुभएको छ। स्वास्थ्यकर्मीमा संक्रमणको दर बढेमा जनशक्तिको अभाव हुनसक्छ। तसर्थ ओरिजिनल सुरक्षा कवच पर्याप्त मात्रामा आवश्यक देखिएको छ।
३. एनआरएनका अनुसार ओमनमा संकलित ५७० अक्सिजन सिलिन्डर नेपाल आएको छ। ६७० वटा कन्सन्ट्रेटर किनेको अवस्थामा छ, कोरिया तथा चीनमा पनि जम्मा भइरहेको छ। क्यानडाबाट पनि ५० थान भेन्टिलेटर र केही सय अक्सिजन सिलिन्डर आउने बुझिएको छ। ट्रान्जिट देशमा सामग्री किनेर संकलन गर्दा यहाँको वायुसेवाबाट छिटो ल्याउन सम्भव हुन्छ।
४. यहाँहरूले त्यहाँको सरकारसँग पहुँच राखेर नेपालको अवस्था जानकारी दिई सकभर अन्तर्राष्ट्रिय समुदायबाट अक्सिजन तथा उपकरणको सहयोगको लागि लबिङ गर्नुपर्ने देखिन्छ। भारतमा संसारको ध्यान आकर्षित भएर सहयोग व्यापक आएको छ। संक्रमण दर अहिले भारतको भन्दा नेपालको उच्च देखिएको छ। नागरिकको जीवन रक्षाको लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्नु ढिलो गर्ने समय हामीसँग छैन।
५. खोपः सरकारले निजी क्षेत्रलाई पनि खोप ल्याउने अनुमति दिएको छ। चीन तथा रुसबाट व्यवसायीहरूले जति सकिन्छ, खोप ल्याउने पहल गर्नु जरुरी छ। अमेरिका, फ्रान्स लगायतका देशले अल्पविकसित देशको लागि भनेर करोडौं डोज खोप सुरक्षित राखेका छन्। त्यस्तै कोभ्याक्सले दिने १ करोड ३० लाख डोजमध्ये जम्मा ३ लाख ४८ हजार डोज आएको छ। ती सबै ठाउँबाट छिटो खोप ल्याउन पहुँच भएका व्यक्तिहरूले अग्रसरता लिनुहुन अनुरोध गर्दछु। स्मरण होस्, खोप लगाएका व्यक्तिहरूमध्ये केही संक्रमित भए पनि सिकिस्त हुने तथा मृत्यु हुने अवस्था निकै कम छ। खोपले नै हामीलाई बचाउने हो। हाम्रा गतिविधि सुचारु गर्ने हो।
६. जनशक्तिः विदेशमा रहनुभएका बायोमेडिकल इन्जिनियरहरुले विपतको यो घडीमा स्वदेश आएर भेन्टिलेटर. मोनिटर, अक्सिजन प्लान्ट आदिको मर्मत तथा क्षमता वृद्धि गर्नुभएमा मातृभूमिको लागि ठुलो योगदान हुनेछ। त्यस्तै फ्रन्टलाइनमा खटिएर विभिन्न देशमा महामारी नियन्त्रणको अनुभव लिनुभएका विविध जनशक्ति (मेडिकल/रेस्क्यु आदि ) स्वदेश आएर योगदान गर्नुहुन अनुरोध गर्दछु। यस्तो जनशक्ति र यहाँको जनशक्ति मिलेर मोबाइल टिम गठन गर्न सकिन्छ। उक्त टिम होम आइसोलेसनमा रहनुभएका संक्रमितलाई अस्पताल जानु पर्ने अवस्था आउन नदिन खटाउन सकिन्छ।
७. देश फर्काउने बाताबरणः अहिले अरब लगायत धेरै देशका नेपाली दाजुभाइ तथा दिदीबहिनी स्वदेश आउन पाउनुभएको छैन। उहाँहरूलाई स्वदेश फर्काउनको लागि चार्टर गर्नु जरुरी छ।
अन्त्यमा, महामारीको प्रकृति हेर्दा यो पटकको घातकतासँग तुरुन्त एक्सनमा जानुपर्ने अक्सिजन, भेन्टिलेटरको जति सकिन्छ त्यति छिटो व्यवस्था तथा अर्को लहर आएमा त्यसलाई सामना गर्ने तयारी अहिलेदेखि नै गर्नुपर्ने हुन्छ। यसमा हामी सबैको ठूलो योगदान आवश्यक रहेको छ। यसको लागि सरकारको उत्कर्ष सक्रियता अपेक्षित हुन्छ।
महामारीको समयमा आरोप प्रत्यारोप गर्नुको कुनै अर्थ छैन। यो बेला हामी सबैले आम नागरिक तथा स्वास्थ्यकर्मीको मनोबल बढाएर, आतंक तथा सनसनीपूर्ण कुरा सम्प्रेषण नगरेर तथा जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेर/ गराएर, उपचारको व्यवस्था गरेर तथा अर्को लहरबाट बच्नको लागि समेत खोपलाई निःशुल्क, सहुलियत दरमा उपलब्ध गराएर छिटोभन्दा छिटो सामान्य जीवनमा फर्किने वातावरण मिलाउनु जरुरी छ।
यो महामारी हामी सबैले प्रयास गरेमा आगामी २ हप्तापछि ओह्रालो लाग्दै २-३ महिनामा सहज अवस्था आउने विश्वास छ। संक्रमणको चेन तोड्नको लागि यो २ हप्ता सबै जना घरमा बस्ने, दैनिक काम गरेर खाने वर्गलाई सरकारले स्थानीय निकायबाट ठोस राहत दिने, काममा जानुपर्नेले डबल मास्क, दुरी र हातको सफाइमा पूर्णरुपमा ध्यान दिनु जरुरी छ। हामी जति स्वअनुशाशित हुन्छौं, त्यति नै छिटो संक्रमणको चेन तोडिन्छ। भारतमा अहिले धेरै सहज अवस्था आएको छ। नेपालमा पनि आउनेछ। यहाँहरू सबैको आरोग्यताको कामना गर्दछु।
(तथ्यांक- सिसिएमसी, स्वास्थ्य मन्त्रालय, एनआरएन अध्यक्षको मन्तव्य आदिबाट)