भ्रमको खेती गर्ने माथि रेणुको यस्तो चेतावानी
४ जेठ काठमाडौं। अहिले भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर महानगर जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै भ्रमको खेती नगर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै महानगर प्रमुख दाहालले यस्तो आग्रह गरेकी हुन्।
कोरोनाबाट मृत्यु भएकाको शव जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने केही सञ्चारमाध्यममा आएको समाचारप्रति मेयर दाहालले खण्डन गरेकी छन्।
कोरोनाको यस्तो भयाबह अवस्थामा पनि झुटको राजनीती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म गर्छौं ? भन्दै मेयर दाहालले प्रश्न समेत गरेकी छन्। सञ्चारमाध्यममा आएको उक्त समाचारप्रति मेयर दाहालले घोर आपत्ति जनाएकी छन्।
दाहालले लेखेकी छन्, ‛ उक्त समाचार पूर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगरले कुनै पनि लास व्यवस्थापन गरेर पैसा नलिएको र शव जलाउने कार्य महानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु। महानगरले यस्तो गर्यो भनेर गरिएको यस्ता खाले भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई आवश्यक कार्बाहीको माग गर्दछु।’