बादललाई नियोजित रूपमा हराइयो – उपप्रधानमन्त्री पोखरेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
8.4K
SHARES

७ जेठ काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नियोजित रूपमा हराइएको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् बादललाई जिताउनुपर्थ्यो तर, नियोजित रूपमा हराइएको बताएका हुन्।

उनले आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा स्पष्ट भएको बताएका छन्। उनले पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‛राष्ट्रिय सभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य छन्। यस खाले अराजक कृत्यले नेकपा ( एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ। पार्टी विरूद्धमा आज गरिएका यी अपराधपूर्ण कामले पार्टी विधान, पद्दति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ। आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय÷ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्। यद्यपि आजको निर्वाचनले एमाले विरोधी महागठबन्धनका बाबजुद नेकपा (एमाले) एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने कुरा आज स्पष्ट भएको छ।विषम अबस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ।’

66