विपक्षी गठबन्धन १४९ सांसदहरू सहित सर्वोच्च जाँदै


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
5.3K
SHARES

१० जेठ काठमाडौं ।अहिले  विपक्षी गठबन्धनका सांसदहरु आज संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाँदैछन् । रिट दायर गर्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटाएका उनीहरु आज बिहान सर्वोच्च जान लागेका हुन् ।

विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव–झलनाथ पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम पक्ष) र राष्ट्रिय जनमोर्चाका १४९ सांसदहरू संसद विघटनको विरुद्ध रिट दर्ता गर्न आज विहान १० बजे सिंहदरबारमा भेला हुँदैछन । पूर्वनिर्धारित योजना अनुसार रिट दायर गर्न आज विहान ११ बजे सर्वोच्च अदालत पुग्ने एक नेताले बताए ।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्यालय समय सुरु हुनासाथ रिट हाल्न सर्वोच्च अदालत जाने बताइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

रिट हाल्ने प्रयोजनका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरिसकेका छन । सांसदहरुले व्यक्तिगत रुपमा रिट दायर गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।