पार्टी निर्माणको विकल्प छैन – नेता नेपाल
२२ जेठ काठमाडौं।आज नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन्। आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा नेता नेपालले केपी ओली सुध्रिने सम्भावना नरहेकाले पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका हुन्।
ओलीसँग संवादका लागि एक हप्ताको समय छुट्याइएको र त्यसपछि पार्टी पुनर्गठनमा अघि बढ्ने उनले बताए। यद्यपि उनले पार्टी पुनर्गठन गर्न टिमभित्रै मत बाझिएकाले नयाँ आन्दोलन निर्माण गर्न नसकिएको बताए।
‘जिल्ला अध्यक्ष तथा सचिवहरूले तत्काल बोल्ड डिसिजन गरेर अघि बढ्नुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघिसकेकाले उनीसँग मिल्ने सम्भावना देखिँदैन,’ नेताले भने, ‘अलमल नगरी छिट्टै निष्कर्षमा पुग्नुपर्छ भन्ने केही जिल्ला नेताहरूको राय थियो।’
नेता नेपालले समूहका केही नेता अझै ओली पक्षसँग संवाद गरेर परिणाम निकाल्छौं भनेर लागे पनि त्यो सम्भावना नरहेको बताएका थिए।
‘हामीले विभाजन गरेर जान खोजेको होइन। केपी ओली नै विभाजनका कारक हुन्। उनले नै पार्टी फुटाउन खोजेका हुन् भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ।
अहिले पनि उनी पार्टी एकताको आधार बनाउने भन्दा पनि टालटुले कुरा गरिरहेका छन्। जेठ २ मा फर्कन अनिच्छा देखाइरहेका छन्। यस्तो अवस्थामा एउटा निष्कर्षमा पुग्नैपर्छ,’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक जिल्ला अध्यक्षले भने।