हस्ताक्षर फिर्ता गर्दैनौ, शर्त राखेर एकता हुँदैन – नेपाल पक्ष


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २४ २०७८
7.1K
SHARES

२४ जेठ काठमाडौं । अहिले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का असन्तुष्ट पक्ष (खनाल–नेपाल समूह)ले शर्त स्वीकार गरेर एकता नहुने अडान राखेको छ । खनाल–नेपाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक सोमबार बसेको थियो ।

बैठकले यसअघि नै प्रस्तुत गरेका ६ बुँदे प्रस्ताव स्वीकार गरे मात्रै पार्टी एकताको वातावरण बन्ने निष्कर्ष निकालिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

“अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे (आइतबार साँझ प्रस्ताव गरिएको) प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ । शर्त मानेर एकता सम्भव छैन,” उनले भने, “लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन ।

पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।”

उनले पुरानो कारबाही फिर्ता नलिने तर नयाँ कारबाही गर्दिन भन्नुको कुनै तुक नरहेको बताए । त्यस्तै पुरानै जनसंगठन  क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको बताए । मूलभूतरूपमा पुरानै कमिटी ब्युँताउने भनेको आफूलाई मन परेका मानिस मात्रै राख्ने भन्ने हो यो कुरा स्वीकार्न सकिँदैन ।