माओवादीमा फर्किने कुरा परिकल्पना समेत गर्न सक्दिन – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
5.9K
SHARES

२५ जेठ काठमाडौ । अहिले एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री टाेपबहादुर रायमाझीले आफू माओवादीमा फर्किन लागेको  भन्ने खबर कपाेकल्पित रहेको बताउनुभएको छ । सोमबार साँझ विज्ञप्ति निकालेर नेता रायमाझीले आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको  छ – ‘पछिल्लो समय केही सञ्चार माध्यमहरुबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

केही अनलाइनले टाेपबहादुर लगायतका नेता माओवादीमा फर्कने तयारीमा रहेकाे समाचार आइतबार प्रकाशित गरेका थिए । नेता रायमाझीले ती समाचारमा कुनै सत्यता नभएकाे भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।

देउवाको शरणमा पुगेका प्रचण्डको पार्टीमा नफर्किने रायमाझीले उल्लेख गर्नुभएको  छ । उहाँले लेख्नुभएकाे छ – ‘प्रचण्डमा रहेको कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिंगो  पार्टीलाई विघटन एवं विसर्जनको दिशमा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।’

सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो-चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको  उहाँले उल्लेख गर्नुभएको  छ ।

भ्रममा नपर्न उहाँले आग्रह गर्दै उहाँले लेख्नुभएको छ – ‘औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु-जनसमुदायमा हार्दिक अनुरोध-अपिल छ ।’