मुख्यमन्त्री भट्टलाई दुई तिहाइको समर्थन !


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
4.7K
SHARES

२५ जेठ धनगढी।आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत मागेका छन्। प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन्।

मुख्यमन्त्री भट्टले पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेको र अहिले संसदीय व्यवस्थालाई कसरी मजबुत बनाउने र संस्थाले कसरी काम गर्छ भन्ने विश्वास दिलाउने चुनौती रहेको बताए।

उनले भने, ‘एकताबद्ध भएर नै सुदूरपश्चिममा आम जनताको विश्वास अनुसार काम गर्न सक्ने र विकास गर्न सकिन्छ।’

भट्टले सभामा आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेपछि अहिले सभामा छलफल जारी छ। अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सांसदले सम्बोधन गर्ने क्रम जारी छ।

मुख्यमन्त्री भट्टलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र नेपाली काँग्रेसले विश्वासको मत दिने भएका छन्। काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टको सरकार ढल्न नदिने निर्णय गरेको छ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। यहाँ मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्छ।

नेकपा एमालेका २४ जना सदस्य छन्। नेकपा माओवादीका १३ जना छन्। नेपाली काँग्रेसका १२ जना र जनता समाजवादी पार्टी जसपा नेपालका दुई जना प्रदेश सभा सदस्य छन्।

एमालेका २४ मध्ये १६ सदस्य माधव नेपाल पक्षमा छन्। प्रधानमन्त्री ओली पक्षमा ८ जना मात्रै रहेको बताइएको छ। नेपाल पक्षको दबदबा रहेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले आज बिहान बैठक गरेर भट्टलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

यति मात्र होइन १२ सदस्य रहेको काँग्रेसले पनि मुख्यमन्त्रीलाई भोट दिएमा उनलाई प्रदेश सभाको दुई तिहाइको समर्थन रहनेछ।

दुई सदस्य रहेको जसपाले भने मुख्यमन्त्रीलाई भोट नदिने बताएको छ। यहाँ जसपाका महन्थ ठाकुर पक्षका सांसद छन्। मुख्यमन्त्री भट्टलाई माओवादी, एमालेको माधव नेपाल पक्ष र काँग्रेसले मत दिएमा दुई तिहाइको समर्थन हुन्छ।