खुले सौराहाका होटल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
18K
SHARES

२८ असार भरतपुर । सौराहाका पर्यटकीय होटलले कोरोनाको कहरकै बीचमा सेवा दिन थालेका छन् । होटलको क्षमताअनुसार एक तिहाइसम्म पर्यटक राख्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनको आदेशसँगै सौराहाका होटल सरसफाइ तथा रङरोगन गर्दै सेवा दिन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

“हामीले कोभिड–१९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ,” महासचिव थपलियाले भने, “आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । ” सवारी साधन सञ्चालन सहज नभएको र नारायणगढ–मुग्लिन सडकमा पहिरो जारी रहेकाले तल्काल पर्यटक आवगमन कमै भए आउने क्रम भने सुरु भएको उनले बताए ।

सौराहाकै राम्रा होटलमध्येको एक ल्यान्डमार्क फरेस्ट पार्कका सञ्चालक ओमप्रकाश पाण्डे होटल खुलेको पहिलो दिनमै आफूहरूले १८ वटा कोठा बिक्री गरेको जनाए । “पर्यटक आउन थालिसके, पहिलो दिनमै हामीले १८ वटा कोठा बेचेका हौँ,” सञ्चालक पाण्डेले भने।

कोरोना कहरले थला परेका बेला बाढीबाट डुबान भएपछि सौराहाको सरसफाइ र रङरोगन गरेर होटल सञ्चालन ल्याइएको पनि उनले बताए । “लामो समय बन्द रहेका होटल सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ, रङरोगन र मर्मतसुधारमा हामीले १५ लाख रुपियाँ खर्च ग(यौँ,” पाण्डेले भने।

महासचिव थपलिया ठूला होटलको खर्च बढे पनि सबै होटलको सरसफाइ र मर्मतसुधार खर्च १५ लाख रुपियाँ नै नहुने बताउँछन् । “ठूला होटलको रङरोगन र सफाइमा उल्लिखित रकम खर्च भयो होला तर साना होटल एक लाख रुपियाँ मात्रै खर्च गरेर पनि सञ्चालनमा ल्याउने अवस्था छ,” उनले भने ।

अहिलेको अवस्थामा सौराहाका ११० वटा होटलले सरसफाइ तथा मर्मतसुधार र आवश्यकता अनुसारको सामान खरिदमा मात्रै १० करोड रुपियाँ खर्च गरेको उनले बताए ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै गत वैशाख १७ देखि सौराहाका ११० होटल बन्द थिए । होटल बन्द हँुदा छ हजारभन्दा बढी कर्मचारी पनि कामविहीन थिए ।

खोपको माग

क्षेत्रीय होटल सङ्घले कोरोनाको जोखिम न्यूनीकरण गर्न होटलमा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र चितवनका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको सङ्घका अध्यक्ष दीपक भट्टराईले बताए ।

घुमौँ सौराहा अभियान जारी

कोरोनाबाट थला परेको पर्यटन व्यवसाय उकास्न सौराहाका होटल व्यवसायीको छाता संस्था क्षेत्रीय होटल सङ्घले सञ्चालन गरिएको ‘घुमौँ सौराहा’ अभियान जारी छ । पर्यटकलाई विशेष छुटसहितको यस अभियानले विशेष त आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास होटल
व्यवसायीमा छ ।

“हाम्रो उद्देश्य आन्तरिक पर्यटन विकासको माध्यमबाट कोरोनाले थला परेको चितवनको पर्यटनको विकासमा टेवा पु¥याओस् भन्ने हो,” अध्यक्ष भट्टराईले भने ।