हाम्रो साझा उम्मेदवार हुन्छ – नेता पौडेल
१७ भदौ काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४ औं महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताएका हुन्।
महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो। पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो।
वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेले सुनाए। आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उनले बताए।
संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उनको भनाइ थियो। देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत उनले आग्रह गरे। कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने नेता पौडेलले बताए।
छलफल गरेर नै सभापतिको उम्मेदवार तय गर्ने र कुनै खटपट नगरी एक भएर अगाडि बढ्ने वरिष्ठ नेता पौडेलले प्रष्ट पार्नुभयो । सभापतिलगायत अन्य सबै पदमा छलफलबाटै उम्मेदवार तय गरिने उनको भनाइ थियो। अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुन नसकेको र निष्ठावान् कार्यकर्ता क्रियाशील सदस्यताबाट बञ्चित हुने अवस्था सिर्जना भएको नेता पौडेलले बताए।
पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै पार्टीका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, डा शेखर कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरूङ, गगन थापा, सरिता प्रसाईं, किरण यादवलगायत नेता उपस्थित थिए।
पत्रकार सम्मेलनमा १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापासमेत उपस्थित थिए। उनले सोमबार काठमाडौं महानगरपालिका-३० मा आयोजित कार्यकर्ता भेलामा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने औपचारिकरुपमा घोषणा गरेका थिए। कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। -रासस