एमालेसँग एक्लाएक्लै चुनाव लड्ने आँट कसैले नगरे हुन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १९ २०७८
3.5K
SHARES

१९ भदौ काठमाडौं । आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरूको जमानत जफत हुने दाबी गरेका छन् । एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सत्तारूढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको भन्दै उनले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारूढ गठबन्धनमा आबद्ध दललाई चुनौती दिए ।

उनले उच्च मनोबलका साथ एकताबद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

“उहाँहरूले मोर्चा कसेर एमालेसँग चुनाव लड्छौँ भन्नुभएको छ । राम्रो आइडिया । एक्लाएक्लै चुनावमा आए हरेकको जमानत जफत हुन्छ । एमालेसँग चुनाव लड्न एक्लाएक्लै आउने आँट नगर्नू । भनिदिएको छु मैले पनि, खुलस्त भनेको छु– एक्लाएक्लै चुनावमा लड्न आयो भने जमानत जफत हुन्छ । आँट नगर्नू । मिलेर आउनू, जमानतसमेत जोगिन्छ । मिलेर आउनू । तर, नेकपा (एमाले) कुनै बैसाखी टेकिरहनुपर्ने पार्टी होइन । यो जनताको साथ लिएर, आफ्ना नीति, आफ्ना उद्देश्य, आफ्ना कामहरू र भविष्यका योजनाहरू जनताको बीचमा लगेर देश र जनताको निम्ति काम गर्ने देश र राष्ट्रियताको निम्ति काम गर्ने, देशको विकास गर्ने, देशमा सुशासन ल्याउने पार्टी हो । त्यसकारण यो एक्लै चुनाव लड्न सक्छ । एक्लै जित्न सक्छ,” उनले भने, “अबको चुनावमा यस्तो जालीझेली काम गर्ने, गठबन्धन बनाएर झ्यालबाट मच्छड पसेजसरी पस्ने सरकार बनाउन, यो कुरालाई हामी जाली हालिदिन्छौँ ।”