एमसीसीविरुद्ध राँको बाल्नुपर्ने अवस्था नआओस् – विप्लव


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
2.6K
SHARES

२८ भदौ काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी सम्झौता कुनै पनि हालतमा लागु हुन नदिने चेतावनी दिएका छन् ।

एमसीसीविरुद्ध सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको दाबी गरे ।

एमसीसीलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको उनको भनाइ छ ।

उनले ‘नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ?’ भनी प्रश्नसमेत गरे ।

“हामी कुनैपनि हालतले एमसीसीलाई लागु हुन दिँदैनौ । एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जबरजस्ती सन्धि लाद्न पाउँदैन,” विप्लवले भने ।

एमसीसी सम्झौताविरुद्ध आफूहरूले झिल्को बालेको उल्लेख गर्दै उनले त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए ।