एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै ,यी हुन् एजेण्डा
३० भदौ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ।
पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।
नेकपा (एमाले) बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ ।
पार्टीका केही प्रदेश, जिल्ला तथा स्थानीय तहमा भेला, बैठक बसेर राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
युवा तथा विद्यार्थी सङ्गठन स्थापना भइसकेका छन् भने प्रेस सङ्गठन चाँडै घोषणाको क्रममा छ । मजदुर सङ्गठनलगायत अन्य भ्रातृ संस्था निर्माणका लागि तयारी भइरहेको बताइएको छ । रासस