सेयर बजारमा बाउन्स ब्याक
६ असोज काठमाडौं। लगातार पहिरो गएको शेयर बजार बाउन्स ब्याक भएको छ । लगातार तेहोरो अंक सम्मले घटेको बजारमा सोही रफ्तारमा बजार उकालो लागेको छ । यसले लगानीकर्ताहरुमा केही आशा पलाएको छ ।
आज नियमित कारोबारको सुरुवातदेखि नै बढेको बजारमा कारोबार भएका सबै कम्पनीको सेयर मूल्य बढेको छ । यससँगै सेयर बजार सूचक करिब १०५ अंकले वृद्धि हुँदै २८१७ अंकमा उक्लिएको हो।
आज २५ कम्पनीको मूल्य नौ प्रतिशतभन्दा धेरैले बृद्धि हुँदा १३ कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ।
बजार सूचक नेप्से करिब १०५ अंकले उचालिएको भए पनि कारोबार रकम भने त्यसअनुरुप देखिएन। आज ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
३२०० विन्दुको ऐतिहासिक रेकर्ड बनाएलगत्तै तल ओर्लंदै २६०० विन्दुसम्म आएको बजार बाउन्स ब्याक हुँदा ४२ सय विन्दुसम्म पुग्ने प्राविधिक विश्लेषकहरु भइरहेकाले यो पनि अहिले बजार उचाल्ने एउटा कारक भएको सेयरका ठूला लगानीकर्ताहरु बताउँछन्।
आज कारोबार भएका २१७ कम्पनीको ७२ हजार कारोबारबाट एक करोड २१ लाख कित्ता सेयर किनबेच भएका हुन्। यीमध्ये अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २३ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, नेशनल हाइड्रोपावरको १८ करोड, आरएमडिसी लघुवित्तको १७ करोड, हिमालयन डिष्टिलरीको १५ करोड र अपि पावरको १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आज कारोबार भएका केही केही म्युचुअल फण्ड योजनाका एकाइ बाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो।
समूहगत रुपमा हेर्दा जीवन बीमा समूह सर्वाधिक ५५१ अंकले बढ्दा निर्जीवन बीमा समूह ४४१ अंक र विकास बैंक समूह ३८१ अंकले बढेका छन्। यस्तै, फाइनान्स समूह २०७ अंकले बढ्दा उत्पादन समूह १८२ अंक, माइक्रोफाइनान्स समूह १७० अंक, हाइड्रोपावर १६९ अंक, होटल समूह १३६ अंक र व्यापार समूह १३२ अंकले बढेको छ। बैंकिङ समूह ६० अंकले बढेको छ भने अन्य समूह ४० अंकले सुधार भएको छ।