सेयर बजारमा निरन्तर पहिरो , आज पनि ७७ अंकको गिरावट
२ कात्तिक काठमाडौं । बैंकहरूले बढाएका ब्याजदरको प्रत्यक्ष असर पुँजी बजारमा परेको छ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको पहिरो गयो । सोमबार ६९ अंकले झरेको सेयर बजार परिसूचक नेप्से मंगलबार पनि ७७ अंकले झर्यो ।
मंगलबार कारोबार सुरुवाती समयदेखि निरन्तर घटेको नेप्से दिउँसो १ः३५ बजेसम्म १०५ अंकले झरेको थियो । पछि सच्चिँदै ७७.३३ अंकले झरेर नेप्से २५१०.७३ विन्दुमा आएर थामियो ।
यसदिन कारोबार परिमाण पनि न्यून नै रह्यो । २२१ कम्पनीको ९५ लाख ७५ हजार कित्ता सेयर तीन अर्ब ७८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।