यस मितिमा स्थानीय तहको निर्वाचन गर्ने तयारी
७ पुस काठमाडौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताएका छन् । निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उहाँले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताए ।
पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःख सुख बिसाउने, आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाए ।
सो क्रममा उनले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उनले बताए ।
सो क्रममा उनले आमसञ्चार क्षेत्रलाई निर्वाचनसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । निर्वाचन गतिलो भयो भने मात्रै शासक, प्रतिनिधि गतिलो हुने उल्लेख गर्दै उनले निर्वाचन आयोग र त्यसभन्दा बाहिरका सरोकारवाला राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसमक्ष जोड्ने पुलको काम सञ्चार जगतले नै गर्ने भएकाले त्यसमा सहयोग गर्न पत्रकार र सञ्चारगृहलाई आग्रह गरे ।
गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।- रासस