कालिञ्चोक क्षेत्रमा हिमपात
९ पुस चरीकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात सुरु भएको हो ।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो वर्षकै दोस्रो पटक आज दिउँसोदेखि हिमपात सुरु भएको कालिञ्चाकका होटल व्यवसायी हरि ओलीले बताए ।
हिउँ खेल्नका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात शुरु भएसँगै व्यवसायी उत्साहित भएका छन् । हिउँपर्ने मुख्य यामअनुसार आजदेखि सुरु भएको हिमपात केही दिनसम्म रहन सक्ने अनुमान गरिएको छ ।