भिजिबिलिटी कम हुँदा हवाइ उडान प्रभावित
१६ पुस काठमाडौं । आज विहानैदेखि बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडानहरु बन्द भएका छन । भिजिबिलिटी अत्यन्तै कम भएपछि उडान र अवतरण दुबै बन्द भएको विमानस्थल टर्मिनल कार्यालयले जनाएको छ। कुवेतबाट आएका अल जजिरा एयरलायन्सका दुईवटा विमान झण्डै दुई घण्टादेखि आकाशमै फन्को लगाइरहेका छन्। कतारको दोहाबाट आइपुगेको हिमालय एयरलायन्स र कतार एयरवेजको विमान पनि अवतरणको पर्खाइमा आकाशमै फन्को मार्दैछन्।
अन्तर्राष्ट्रिय विमान उडान तथा अवतरणका लागि कम्तीमा २ हजार ८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भिजिबिलिटी एक सय मिटरको हाराहारीमा मात्रै छ।
मौसमविद् समीर श्रेष्ठले अहिले हुस्सु र कुहिरो विस्तारै हट्ने क्रममा रहेको र अबको एक घण्टामा भने भिजिबिलिटी पुग्नसक्ने अनुमान गर्न सकिने बताएका छन। उनका अनुसार आन्तरिक विमान उड्न र अवतरण गर्न दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ। त्रिभुवन विमानस्थलबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुन्छन भने झण्डै ३ सय आन्तरिक उडानहरु हुने गर्छन ।