आजबाट स्मार्ट लकडाउन : के गर्न पाइने र नपाइने ?


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २८ २०७८
11.7K
SHARES

२८ पुस काठमाडौँ । काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । कोरोना संक्रमण बढेसँगै मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा स्मार्ट लकडाउनसहित ​कडाइ गर्ने निर्णय गरेको हो ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् ।

पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ ।