राष्ट्रियसभाको बैठक आह्वान
१३ माघ काठमाडौं। राष्ट्रियसभाको बैठक आगामी सोमबार (माघ १७) गते बस्ने भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ १७ गते दिनको १ बजेका लागि बैठक आह्वान गरेका हुन्।
अध्यक्ष तिमिल्सिनाको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले बिहीबार राष्ट्रियसभा बैठक आह्वानको सूचना जारी गरेका थिए। यसअघि सूचनाबाट नै बैठक आह्वान हुँदै आएको थियो भने सूचना नै जारी गरेर स्थगित हुँदै आएको थियो। माघ २ गते अनिश्चित समयका लागि राष्ट्रियसभाको बैठक स्थगितको सूचना जारी गरिएको थियो।
यसबीचमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित केही सांसद र संघीय संसद् सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो। अध्यक्ष तिमिल्सिना कोरोनामुक्त भएपछि बैठक आह्वान गरिएको हो। राष्ट्रियसभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेको अवरोधले काम हुन सकेको छैन। एमालेले भदौयता दुवै सदनको बैठक अवरुद्ध गर्दै आएको छ।