७ सय करोडमा पनि एमाले विक्री हुँदैन – अध्यक्ष ओली
७ वैशाख काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिदबिक्री नहुने दावी गरेका छन् । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । ‘नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर जलाउँदै हिड्ने पागल होइन यो’, ओलीले रुपन्देहीका सरोज भट्टराईले सोधेको प्रश्नको जवाफ दिदै भने, ‘तर अनुचित पैसा, अनुचित कारोवार, अनुचित प्रलोभन अनफेयर क्रियाकलापमा विश्वास गर्दैन र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिदैन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफुसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि मलाई रु भनेर प्रश्न गरेका थिए । भट्टराईको प्रश्नको जवाफमा ओलीले भने, ‘एमालेलाई सात सात करोड होइन, सात सय कारोड सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’ उनले राजनीतिक फिल्ड कसैको ठेक्का पट्टाको विषय नभएको पनि बताए । साथै उनले एमालेले राजनीतिमा सवैलाई स्थान दिने गरेको भन्दै ‘ओपन’ रहेको बताए ।