‘भरतपुर भाषण’ बारे सन्दीपले दिए यस्तो प्रतिक्रिया
२४ वैशाख काठमाडौं । सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोलेपछि कलाकार सन्दीप क्षेत्री विवादमा मुछिएका छन् । उक्त सभामा क्षेत्रीले गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई शुभकामना दिएका थिए ।
क्षेत्रीको उक्त चुनावी सभा सम्बोधन यतिबेला विवादमा तानिएको छ । तटस्थ बस्नुपर्ने कलाकारले भोट माग्दै हिंडेको भन्दै सामाजिक सञ्जालमा उनको टीभी कार्यक्रम बहिष्कार गर्नेसम्मको विरोध सुरु भएको छ ।
ट्वीटर र फेसबुकमा क्षेत्रीको भरतपुर भाषणलाई लिएर मिश्रित प्रतिक्रिया व्यक्त भइरहेको छ । कतिपयले शुभकामना दिन पाउनु कलाकारको धर्म भएको बताइरहेका छन् भने कतिपयले क्षेत्रीले राजनीतिक तटस्थता अपनाउन नसकेको उल्लेख गरेका छन्
अभिनेता तथा टीभी प्रस्तोता क्षेत्रीले आफ्नो भरतपुर भाषणलाई ‘राजनीतिक प्रपोगान्डा’ बनाउनु उचित नभएको बताए । रेनु दाहाललाई शुभकामना दिन र सचेत तुल्याउन मात्र आफू सभामा पुगेको उनले बताए ।