एमालेले माफी माग्नुपर्छ – नेता पुन


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
4.7K
SHARES

२ जेठ  रोल्पा। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले जनमतको अपमान हुने गरी अभिव्यक्ति नदिन नेकपा एमालेलाई चेतावनी दिएका छन्। एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि विज्ञप्ति निकालेर धाँधली भयो भन्ने अभिव्यक्ति दिएको थियो। उक्त अभिव्यक्तिले जनअभिमतको अपमान गरेको पुनले बताए। सोमबार लिवाङमा आयोजित कार्यक्रममा पुनले जनतालाई कमजोर नठान्न एमाले नेतृत्वलाई आग्रह गरे। निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले गरेका गल्तीको परिणामका रुपमा स्वीकार गर्नुको साटो जनताको अभिमतलाई अपमान गर्ने कार्य निन्दनीय भएको उनको भनाइ थियो। आफूले जिते जनता महान र हारे यस्ता प्रकारको अभिव्यक्ति दिनु राजनीतिक अवसरवाद र बेइमानी भएको उनको टिप्पणी छ।

‘एमालेका महासचिवले एमालेको दृष्टिकोण भनेर निर्वाचन सकिएको तीन दिनपछि आएर धाँधली भयो भन्नुभयो। यो आश्चर्यको कुरा हो,’ पुनले भने, ‘पहिला देशैभर जित्छौं भन्नुहुन्थ्यो। मतदान भएपछि पनि हामी जित्छौं भन्दै हुनुहुन्थ्यो। तीन दिनपछि आएर धाँधली भयो भन्नु जनतामाथिको अपमान हो। अहिलेको लोकतान्त्रिक व्यवस्था र सचेत नेपाली जनताको अभिमतमाथिको अपमान हो। यसको हामी घोर भर्त्सना र निन्दा गर्दछौं।’

उनले अनावश्यक आरोपमा उत्रनुको साटो दुई तिहाइको नेकपा र दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेकामा जनतासँग क्षमा याचना गर्न एमाले नेतृत्वलाई सुझाएका छन्। पुनले संघीय चुनावमा एमालेले अहिलेको स्थानीय तहमा भन्दा भन्दा ठूलो पराजय भोग्ने दाबी गरेका छन्। उनले निर्वाचनमा विजयी भएको ठाउँमा विभेद नगर्न आफ्ना नेता कार्यकर्तालाई आग्रह समेत गरे। हार बेहोरेको ठाउँमा समीक्षा पनि गर्न उनले निर्देशन दिए।

‘हारेको ठाउँमा समीक्षा गर्नुपर्छ। जितेको ठाउँमा हारेकालाई विभेद गर्नु हुँदैन,’ पुनले भने, ‘जनप्रतिनिधि राम्रो भएमा समाज र पाटी दुवै राम्रो हुन्छ। त्यसैले ध्यान दिएर काम गर्नु होला।’ रोल्पा नगरपालिको मेयर लगायत अत्यधिक पदमा माओवादी विजयी भएका छन्। नेता पुनले भने देशभरको परिणामलाई नियाल्दा स्थानीय तहमा एमालेले २०७४ को तुलनामा केही पराजय भोगेको बताए।