केपी ओलीले देखेका पाटी अन्तरघातीहरु को को छन् ?
१२ जेठ काठमाडौ । चुनाव हुनु अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन एक एक किलोका ढक हुन् र एमाले एक क्विन्टलको ढक हो भनेर चर्चामा आए । ६० देखि ७० प्रतिशत चुनाव जित्ने ओलीले दावी गर्दै आएका थिए । काँग्रेसलाई बुढो रुख, माओवादीलाई रित्तो भाँडो, माधव नेपाललाई मान्छे नै नठानेका ओलीले जब निर्वाचन सकिएर मत परिणाम शुरु भयो । अनि एमाले पछि पर्दै गएको बुझेपछि धाँधली भएको भनेर विज्ञप्ति जारी गराए ।
धाँधलीले मात्र नपुगेर अहिले एमाले अध्यक्ष केपी ओलीले पार्टी भित्रकै अन्तरघातका कारण चुनावमा पराजीत हुनु परेको निष्कर्ष निकालेका छन् ।
तर ती अन्तरघातीहरु कुन कुन पालिकामा थिए ? अथवा कुन कुन नेता हुन् ? क कसले एमालेलाई कहाँ कहाँ हराए त ? भनेर पार्टी बोलेको त छैन । तर जेठ ११ मा पोखरामा एउटा नारा एमाले कार्यकर्ताले लगाए अन्तरघाती मुर्दावाद । एमालेले पोखरा महानगरपालिकामा उपमेयर सहित ९ वटा वडा जितेपछि सँयुक्त र्याली निकालेको थियो ।
र्यालीलाई संवोधन गर्ने क्रममा जब एमाले नेता पृथ्वी शुब्बा गुरुगं आईपुगे अनि कार्यकर्ताले उनैलाई लक्षित गर्दै नारावाजी गरिहाले । र्यालीअघि शहिदचोकमा शीर्ष नेताहरुको सम्बोधन थियो । वक्ता थिए, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी । अधिकारीले भाषण गरेर निस्किए । अनि भाषण गर्न आइपुगेका पृथ्वीसुब्बालाई भने कार्यर्ताले नाराबाजी गर्दै बिरोध जनाए । ‘अन्तरघाती मुर्दावाद, अन्तरघाती होसियार,’ उनीहरुको नारा थियो, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर् ।’ उनीहरुलाई पोखरामा मेयर चुनाव हार्नुमा प्रमुख कारण पृथ्वीसुब्बा गुट भन्ने लागेको छ । केही समयअघि सोही गुटका केही नेताहरुको अडियो सार्वजिक भएको थियो । त्यसपछि घटना झनै रोचक बन्यो ।
अहिले कास्कीमा गुरुङ र अधिकारी गुटको टकराव छताछुल्ल भएको छ । यसअघि टिकटको समयमै दुई गुटबीच निकै अस्वस्थ प्रतिश्पर्धा भयो । पिएस गुटबाट टिकट पाएका दीपक पौडेललाई पूरानो सुन चोरीको भिडियो सामाजिक सन्जालमा पोष्ट गरेर अधिकारी गुटकै नेताहरुले टिकट खोसेको आरोप लगाइएको छ ।
पछि अधिकारी गुटका कृष्ण थापाले टिकट पाए । तर चुनाव जित्न पाएनन् । प्रमुख कारणः एमालेभित्रको अन्तर्घातलाई मानिएको छ ।
त्यस्तै चितवनमै पनि कुनै नेताले नै अन्तरघात नगरेको भए पनि ६ छाप सूर्यमा आएको मत एक छाप रेणु दाहालका लागि हँसिया हथौडामा गएको पाईएको थियो । राम्रै संख्यामा यस्तो मत रेणुलाई क्रस हुँदा भरतपुरमा रेणुलाई हराएर प्रचण्डलाई तर्साउने ओलीको सपना पूरा हुन पाएन । झन् फराकिलो मतान्तरले उनी बिजयी भईन् ।
यता काठमाण्डौमा पनि ६ छाप सूर्यमा हालेर एक छाप बालेनको लौरोमा परेको ठूलै संख्यामा मत पत्र फेला परेको छ । यो पनि केशब स्थापितप्रति असन्तुष्ट पार्टी कार्यकर्ता वा समर्थककै मत थियो शायद ।
जे भए पनि निर्वाचनमा हार जित स्वभाविक हुन्छ तर पार्टी भित्रका अन्तरघातीको पहिचान गर्न भने कठिन हुन्छ । अन्तरघातीहरुमाथि एमालेले कस्तो रबैया अपनाउला त्यो भने हेर्न बाँकी छ ।