राजस्व कार्यालयमा बुझाएको करलाई आधिकारिक मान्छु – कलाकार दीपकराज गिरी


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
5K
SHARES

२५ जेठ काठमाडौं । कलाकार दीपकराज गिरीले नेपाली चलचित्रको ‘ग्रस कलेक्सन’को रिपोर्टबारे विश्वसनीय तथ्यांक नआउने गरेको बताएका छन् । एउटै चलचित्रको ग्रस कलेक्सनलाई लिएर फरक–फरक तथ्यांक आउने गरेको उनले उल्लेख गरे ।

कसैले दाबी गरेकै आधारमा सिनेमाको कलेक्सन त्यति नै हो भनेर विश्वास गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । “म त्यति बेला मात्रै कुनै पनि सिनेमाको कलेक्सन यति हो भनेर विश्वास गर्छु, जसले राजस्व कार्यालयमा गएर सिनेमाले आम्दानी गरेबापतको कर तिरेको हुन्छ,” दीपक भन्छन् । नेपालका सिनेमाघरमा बक्सअफिस लागु भए पनि पूर्ण रूपमा लागु भएको छैन । त्यसैले चलचित्र निर्माण पक्षले आफूअनुकूल ग्रस कलेक्सनको दाबी गर्ने गरेको धेरैले बताउने गरेका छन् ।

“कोरोना संक्रमणको त्राससँगै सिनेमा हल बन्द भएपछि नेपाली चलचित्रले राम्रो व्यापार गर्न सकेका थिएनन्,” दीपक भन्छन्, “कबड्डी–४ ले राम्रो व्यापार गरेको छ । यसमा मेरो शुभेच्छा छ । नेपाली चलचित्र जति धेरै चल्यो, त्यो हाम्रा लागि खुसीको कुरा हो । नेपाली चलचित्र क्षेत्रका लागि राम्रो हो । मैले तिरेको ट्याक्सभन्दा अरुले तिरेको ट्याक्स धेरै होस् म त्यसमा खुसी हुनेछु ।”

चलचित्र ‘कबड्डी–४’ ले हालसम्मकै धेरै ग्रस कलेक्सन गरेको निर्माण पक्ष तथा वितरकले बताइरहेका बेला उनले यसबारे आफू केही नबोल्ने बताए । राजस्व कार्यालयमा तिरेको करले कलेक्सनको रिपोर्ट बताउने उनको भनाइ छ । हालसम्म सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड ‘छक्का पञ्जा–३’ को नाममा रहेकामा त्यसलाई उछिनेको कबड्डी–४ का वितरकहरूले बताइरहेका छन् ।