काठमाडौं र नुवाकोटमा मात्रै हैजा संक्रमितको संख्या ४२ पुग्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
2.1K
SHARES

२३ साउन  काठमाडौं । असार ५ गतेदेखि काठमाडौंमा फैलिएको हैजा संक्रमण साउन २२ सम्म आइपुग्दा ४२ जनामा देखिएको छ । काठमाडौं महानगरपालिकामा आइतबार थप तीनजनामा हैजा पुष्टि भएसँगै सो संख्या ४२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमा समेत हैजा संक्रमित देखिएका छन् । महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा ९, गोकर्णेश्वरमा २, चन्द्रागिरीमा २ तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक/एक जनामा हैजा संक्रमण देखिएको हो ।

ललितपुर महानगरपालिकामा ३ र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक/एक जनामा हैजा देखिएको छ ।

नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ । हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जिवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।