बजेटको घोषणाविपरीत नयाँ तलबमान
२४ साउन काठमाडौं। नयाँ तलबमानका कारण अर्थ मन्त्रालय फेरि विवादमा तानिएको छ।असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बाहरूले धर्ना दिएपछि मन्त्रालय एकपटक फेरि विवादमा तानिएको हो।
सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरूले कर्मचारीको तलब समान ढंगले बढाउन माग गर्दै भर्ना दिएका छन्।
आइतबार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि आन्दोलित कर्मचारी र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको थियो।
आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रूपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए।