१४ खर्ब पुगिसकेको विदेशी विनिमय सञ्चिति १२ खर्बमा झर्यो
३ भदौ काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १६ अर्ब रूपैयाँ कायम छ । अघिल्लो आवको अन्त्यसम्ममा १३ खर्ब ९९ अर्ब रुपैयाँ कायम रहेको उक्त सञ्चिति गत वर्षभर नै दबाबमा पर्यो । एक वर्षको अन्तरालमा विदेशी विनिमय सञ्चिति १३ प्रतिशतले घटेको छ ।
आयात दिन प्रतिदिन बढ्दै जानु, निर्यात अघिल्लो वर्षको तुलनामा बढेको भए पनि अपेक्षित रूपमा नबढ्नु, विदेशी पर्यटक कम आउनु, रेमिट्यान्स उलेख्य नबढ्नु र विदेशी विनिमय सञ्चिति घट्दै जानुले अर्थतन्त्र वर्षभर नै दबाबमा रहेको संकेत गर्छ । गत आर्थिक वर्षको पूरै समय बैंकमा तरलता आभाव कायमै रह्यो । त्यसले पनि अर्थतन्त्र चलायमान भएन ।
आयात–निर्यात र विदेशी विनिमय सञ्चितिको सम्बन्ध एक अर्कामा परिपूरक हुने अर्थशास्त्री डा. रेशम थापा बताउँछन् । आयात बढ्नै गयो भने विदेशी विनिमय सञ्चितिमा दबाब पर्ने र निर्यात बढ्दा विदेशी विनिमय सञ्चिति बढ्दै जाने हुँदा हामीले आयात कम गर्ने विकल्प सोच्नु पर्ने थापाको भनाइ छ । बढी मात्रामा पेट्रोलियम पदार्थ आयात हुने हुँदा पनि त्यसलाई कम खपत हुने विकल्प सोच्नु पर्ने उनले बताए ।
आव २०७४/७५ सम्म लगातार बढेर ११ खर्ब दुई अर्ब पुगेको विदेशी विनिमय सञ्चिति त्यसपछिको वर्षमा घटेर १० अर्ब ३८ अर्ब रुपैयाँ कायम भएको थियो । अर्काे वर्ष २०७६/७७ मा भने विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोडभन्दा बढी भएको थियो । तर, त्यसयता लगातार उक्त सञ्चिति घट्दै आएको छ ।
पछिल्लो १० आवको विदेशी विनिमय सञ्चिति
पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १४ खर्ब दुई अर्बसम्म पुगेको विदेशी विनिमय सञ्चिति आव २०७८/७९ को अन्त्यसम्म आइपुग्दा एक खर्ब ८६ अर्ब रुपैयाँ घटेको छ । आव २०७६/७७ मा यो सञ्चिति १४ खर्ब दुई अर्ब कायम भएकोमा त्यसपछिका दुई आवमा लगातार घटेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण नेपालको अर्थतन्त्रलाई मात्र नभएर विश्व अर्थतन्त्रलाई नै प्रत्यक्ष प्रभाव पारेको छ । त्यसैको परिणाम स्वरूप पछिल्ला वर्षमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदार र विदेशी पर्यटकको संख्या घट्यो । यसका साथै अत्यधिक मात्रामा विदेशबाट वस्तु आयात हुन थाल्यो । यसले गर्दा पनि विदेशी विमिमय सञ्चितिलाई प्रत्यक्ष प्रभाव पारेको अर्थशास्त्रीहरू बताउँछन् ।
अर्थतन्त्रमा सुधारको संकेत
पछिल्लो तीन महिनाको विदेशी विनिमय सञ्चितिको तथ्यांक हेर्दा अर्थतन्त्र आगामी दिनमा सकारात्मक दिशामा जाने देखिन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा आयातमा कडाइ गरेसँगै विदेशी विनिमय सञ्चितिमा सुधार हुन थालेको हो । विलासिताका वस्तु आयातमा राष्ट्र बैंकले कडाइ गरेको छ । त्यसले विदेशी विनिमय सञ्चितिमा सन्तुलन देखिएको छ ।
वैशाखभन्दा पहिले दबाबमा रहेको विदेशी विनिमय सञ्चिति त्यसयता विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ । वैशाख महिनामा मात्र २१ अर्ब चार करोड रुपैयाँ घटेको विदेशी विनिमय सञ्चिति त्यसयता लगातार बढेको छ । जेठमा २९ अर्ब ९६ करोड रुपैयाँ र असारमा ३८ अर्ब ९६ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति बढेको छ ।
त्यसैगरी गत वैशाखमा दुई खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर स्थिति असारसम्म आइपुग्दा कम हुँदै आएको छ । यसले देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर देखाउँछ । असार मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा छ । यसले पनि अर्थतन्त्र सुधारउन्मुख बाटोमा छ भन्ने संकेत गर्छ । तर, अघिल्लो वर्षको असार मसान्तसम्म शोधनान्तर स्थिति एक अर्ब २३ करोड रुपैयाँ बचतमा थियो ।

आयातमा निर्भर रहेको नेपालको अर्थतन्त्रमा विदेशी विनिमय सञ्चितिको भूमिका महत्वपूर्ण हुन्छ । विदेशी विनिमय सञ्चिति बढाउन निर्यात बढाउनुका साथै विदेशी पर्यटकको आगमन बढ्नुपर्छ । पछिल्लो समय कोभिड–१९ केही हदसम्म सामान्य भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दै गएको छ । त्यसले पनि विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ ।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा ६२.८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको अन्त्यसम्म अन्तिम श्रम स्वीकृति लिएर तीन लाख ५४ हजार ६६० जना नेपाली कामदार विभिन्न मुलुकमा रोजगारीका लागि गएका छन् ।
१० वर्षयताकै सर्वाधिक आयात
गत आवमा हालसम्मकै उच्च रकमको आयात भएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो हालसम्मकै उच्च रकमको आयात हो । आव २०६९/७० मा पाँच खर्ब ५६ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो । त्यसयता आव २०७५/७६ सम्म वस्तु आयात निरन्तर बढ्दै गएको देखिन्छ ।
आव २०७५/७६ मा १४ खर्ब १८ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा त्यसपछिको आव २०७६/७७ मा वस्तु आयात घटेर ११ खर्ब ९६ अर्बमा सीमित भएको थियो । तर, पछिल्ला दुई आर्थिक वर्षमा भने वस्तु आयात लगातार बढेको देखिन्छ ।