क्षतिपूर्ति रकम बारे गायिका अधिकारीले दिईन यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २९ २०७९
3.7K
SHARES

२९ भदौ काठमाडौं । गायिका समीक्षा अधिकारीले कारागारमा रहेका नायक पल शाहसँग क्षतिपूर्ति बापत कुनै रकम नमागेको बताएकी छिन् । गायिका अधिकारीले सामाजिक सञ्जालमा फेसबुकमा आज एक पोष्ट गर्दै लेखेकी छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।

म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु ।’ गायिकाले पलको केससँग जोडेर सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गरेका कारण मानसपटलमा नकरात्मक प्रभाव परेको पनि बताएकी छिन् ।​ साथै विगतमा भएको घटना आफ्नो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद घटना भएको जिकिर पनि गरेकी छिन् ।

नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो ।

यस्तै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ । गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो ।

उनले लेखेको स्टाट्स :

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार !

यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।