आधा दर्जन यी बैंक राष्ट्र बैंकको कारबाहीमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १३ २०७९
3.7K
SHARES

१३ मंसिर काठमाडौं। चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् ।

बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन भन्ने व्यवस्था निर्देशनमा रहेको छ । तर, यस्तो व्यवस्थाको वेवास्ता गर्दै कर्जाको प्रिमियम घट बढ गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रथम पटक बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, सोही निर्देशनको नं. १५ (३) (५) विरुद्ध आधार दर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने सनराइज बैंक र मेगा बैंकलाई सचेत गराइएको बैंकले जनाएको छ । यस्तै, प्रमुख कार्यकारी अधिकृत अवकाश हुँदा थप सुविधा उपलब्ध गराउने सनराइज बैंक, कर्जाको नियमित नवीकरण, नोक्सान व्यवस्थापन र निरन्तर कर्जा भुक्तानीको सीमा बढाउने मेगा बैंकलाई बैंकले सचेत गराएको छ । यता तोकिएको क्षेत्रमा तोकिएको कर्जा सीमामा कर्जा वितरण नगर्ने बैंक अफ काठमाडौँलाई २ करोड ११ लाख ८५ हजार ६० रुपैयाँ ६७ पैसा र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कृषि विकास बैंकलाई राष्ट्र बैंकले २० लाख रुपैयाँ जरिवाना गरेको छ ।