विश्वभर नयाँ वर्षको उत्सव
१७ पुस लन्डन । कोभिड महामारीका कारण विगत दुई वर्षसम्म चुपचाप बसेका विश्वभरका मुलुकले यसपालि धुमधामका साथ नयाँ वर्ष मनाएका छन् । संयुक्त राज्य अमेरिकाको पूर्वी तटदेखि ब्राजिल, अर्जेन्टिना र क्यारेबियनमा उत्सव मनाइएका छन् ।
सन् २०२३ को आगमनको खुसीयालीमा युरोप, अफ्रिका र एसियाका सहरहरुमा आतिसबाजी र हर्षोल्लासका साथ मानिसहरुले रमाइलो गरेका छन् । कोरोना नियन्त्रणसम्बन्धी कडा नियमहरु फुकुवा गरिएको फाइदा लिँदै नयाँ वर्ष मनाउन चीनमा पनि सार्वजनिक स्थलमा विशाल भिड जम्मा भएका छन् ।
विश्वका अन्य भागहरु सामान्य जीवनशैलीको अवस्थामा फर्किसक्दा पनि चीनमा “शून्य कोभिड नीति”अन्तर्गत कडा नियमहरु लागु गरिएको थियो । हालै चीनले कोभिड नियमहरु फुकुवा गरे पनि अमेरिकालगायत अन्य थुप्रै मुलुकले चीनबाट आउने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिने नियम अघि सारिसकेका छन् । यस्तो निर्णय गर्नेमा अष्ट्रेलिया पछिल्लो मुलुक बनेको छ ।
यसैगरी ताइवानका राष्ट्रपति त्साइ इंग वेनले नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा चीनलाई कोभिडविरुद्ध लड्न आवश्यक सहयोग गर्ने अभिव्यक्ति दिएकी बीबीसीले लेखेको छ ।