कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त
०६ माघ काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।
उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।
त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।
त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भएर काम गरे । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे । सिभिल बैंक पछि उनी म्यानमारको सिटिजन्स बैंकमा सीईओ भएर डेढ वर्ष काम गरेपछि पुनः स्वेदशी बैंकमा प्रवेश गर्न खोजिरहेका थिए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । उनले कमजोर अवस्थामा रहेको सिभिल बैंकलाई पुराना र अब्बल भनिएका बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुर्याएका थिए ।