बैंक, लघुवित्त र सहकारीको बृहत् समीक्षा बैठक गर्छौं – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ६ २०७९
2.2K
SHARES

६ चैत काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक रहेको बताए।

उनले भने, ‘कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए। मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो। तर, अहिले जनताले लघुवित्तप्रति कैयौं प्रश्नहरू उठाएका छन्। सहकारीहरूमा पनि समस्या देखिएका छन्। यिनीहरूको बृहत् समीक्षा गरी आगामी नीति तर्जुमा गर्न जरुरी छ।’

‘बैक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ। त्यसरी मात्र हामीले व्यवस्थित र वैज्ञानिक नीति तय गर्न सक्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘केही दिनमा नै बैंक, वित्तीय संस्था र सहकारीहरूको बृहत् समीक्षा बैठक बोलाउने सोच्दैछु। बृहत् समीक्षा गरेर यस क्षेत्रका समस्या पहिचान र समाधान गर्छौं।’

बैठकमा उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्डले नियमित अनुगमन र सहजीकरण गर्नुपर्नेमा जोड दिए।