५० हजार घुससहित प्रशासकीय अधिकृत र वडाध्यक्ष रंगेहात पक्राउ
१६ चैत काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडाध्यक्ष भीम बहादुर यादव घुस रकमसहित पक्राउ परेका छन्। बिहीवार गरिएको स्टिङ अप्रेसनमा उनीहरूलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत मरासिनी र सोही गाउँपालिका वडा नं ७ का वडाध्यक्ष यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएका अख्तियारको आरोप छ।
घुस माग गरेको उजुरीका आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले बताए ।