यो ट्रेलर मात्रै हो, सिंगै फिल्म देखिनेवाला छ – प्रधानमन्त्री प्रचण्ड
२३ वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खोल्दै जाने बताएका हुन् ।
उनले कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उल्लेख गरे । अहिलेको सरकारको कदम ‘ट्रेलर’ मात्र रहेको भन्दै उनले पूरा फिल्म देख्न बाँकी रहेको बताए ।मैले घोषणा गरेको थिएँ– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ । यो सुरुआत मात्रै हो । यो ट्रेलर मात्रै हो । हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ,” उनले भने, “त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरू आऊलान्, धम्कीहरू होलान् । धेरै चिजहरू हुनसक्छ, योबीचमा । तर, हाम्रो उत्पीडित वर्ग, समुदाय, हाम्रो श्रमजीवी जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ ।