यस्तो निष्कर्ष निकाल्दै सत्ता गठबन्धन बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २३ २०८०
1.5K
SHARES

२३ वैशाख काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकमा संसद्मा प्रस्तुत गरिने आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आइतबार (भोलि)देखि सुरु हुने बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

संसद् बैठकलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले बताए । उनले निजामती ऐन, संघीय शिक्षा ऐनका बारेमा समेत छलफल भएको जानकारी दिए ।

“सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक थियो, भोलिबाट संघीय संसद्को बैठक चल्दै छ, त्यसलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा छलफल भयो । भोलिको बैठकमा नै सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने विषय छ, त्यसका बारेमा गठबन्धनको बैठक बसेको हो,” उनले भने, “अब व्यवस्थित रूपमा भोलि सदन सुरु गरेपछि कार्यक्रम अघि बढाउनेछौँ । विश्वासको मत लिने आवश्यकता छैन । विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्तिलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भयो ।”