माओवादीले बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्दै छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २८ २०८०
1.8K
SHARES

२८ वैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टोनमेन्टकाण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे । बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाउँदै उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरु हुनै नसक्ने दाबी गरे । नेकपा (माओवादी केन्द्र)को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताउँदै ओलीले क्यान्टोनमेन्टकाण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।

“क्यान्टोनमेन्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो,” उनले भने, “जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ?”अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए । उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने ? भन्ने हिसाबले चलखेल भइरहेको आरोप लगाए । एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै उनले आपत्ति जनाए ।

“हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ,” उनले भने, “पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका विरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन् ।” अध्यक्ष ओलीले अर्थतन्त्रको उदारीकरण हुनुपर्ने भए पनि कस्तो उदारीकरण भन्नेबारेमा स्पष्ट हुन नसकेको बताए । उनले सरकारी सम्पत्ति निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर कमिसन खानेकुरा सह्य नहुने चेतावनी दिए ।