यस कारण सांसद विकास कोष ब्युँतायौँ – अर्थमन्त्री महत
१६ जेठ काठमाडौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोषको व्यवस्थाले १६५ निर्वाचन क्षेत्रका जनताको अपेक्षा पूरा गर्न मद्दत गर्ने भएकाले ब्युँताएको प्रतिक्रिया दिएका छन् ।प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेट प्रश्तुत पछि सांसद भवन बाहिर सञ्चार कर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले सरकारले ठूला बजेट छुट्याए पनि निर्वाचन क्षेत्रका जनताको अपेक्षाका आयोजनाहरु नसमेटने भएकाले सांसद विकास कोष ब्युँताएको बताए । उनले सांसद विकास कोषमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रकम विनियोजन गरिए पनि बजेटको कार्यान्वयन सम्बन्धित निकायले कार्यान्वयन गर्ने बताए ।
उनले भने,‘१६५ निर्वाचन क्षेत्र छन । त्यहाँका पनि जनताको अपेक्षाहरु छन् । ठूला–ठूला आयोजनाहरु परेका छन् । सबै आयोजनाहरुले सबै क्षेत्रमा कभर नगरेको पनि हुनसक्छ । यो सरकारी जुन नियमित संयन्त्र हो । त्यही संयन्त्रले नै कार्यान्वयन गर्छ । सांसदहरुको त्यहाँ निर्वाचन क्षेत्रका जनताको अपेक्षालाई मध्यनजर राखेर सिफारिस गर्ने जिम्मा हुन्छ । जनताबाट नै चुनिएर आएका प्रतिनिधि हुन् । उहाँहरु माथि हामीले त्यति ठूलो अविश्वास गर्न मिल्दैन । यसको कार्यान्वयन फुटकरमा हुँदैन । १ करोड भन्दा सानो आयोजना हुँदैन । आयोजनाको सम्बन्धित निकायले कार्यान्वयन गर्छ । सांसद विकास कोषले १६५ क्षेत्रमा नै समानुपातिक विकास गर्न मद्दत गर्छ ।’
उनले निर्वाचन क्षेत्रका सांसदहरुको कार्यभार जनताको अपेक्षा अनुसारका योजना सिफारिस गर्ने मात्रै भएको बताए । उनले जनताले निर्वातन मार्फत चुनिएका प्रतिनिधिहरुलाई अविश्वास गर्न नमिल्ने बताए ।