‘एयर रूट’ ल्याउन नसकेर प्रमले भैँसी लिएर आउनुभयो – प्रतिपक्षी दल
२१ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर शनिबार नेपाल फर्किसकेका छन् । उनको भ्रमणलाई लिएर विशेष गरी दुईवटा कुरा यतिबेला चर्चामा छ । भारत सरकारबाट ल्याउन लागिएको मुर्रा जातका १५ राँगा र लिपुलेक– लिम्पियाधुराबारे प्रधानमन्त्रीको अभिव्यक्ति ।
प्रचण्डले भारत भ्रमणका क्रममा लिपुलेक–लिम्पियाधुरा भूमि साट्न तयार भएको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीले भैँसीसँग राष्ट्रियता साटेको भन्दै सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका छन् । विपक्षी दलहरू मोर्चा बनाएर यससम्बन्धी स्पष्ट जवाफ नआएसम्म संसद् चल्न नदिने अडानमा छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीले भ्रमणको अभिव्यक्तिबारे माफी नमागेसम्म सदन चल्न नदिने भन्दै अवरुद्ध गर्यो । साथै, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रक्रिया उल्टो भएको भन्दै विरोध जनायो ।
प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को शीर निहुरिएको बताए । “फूलबारी रुट प्राप्त गर्नका निम्ति नेपालको पश्चिमको कालापानी, लिम्पियाधुरा, लिपुलेक दिन पनि तयार छौं भन्ने जस्तो आज गएर गर्ने कुराले सिंगो राष्ट्रको शीर निहुरिएको छ । अपमान वोध भएको छ,” गिरीले भने ।
प्रधानमन्त्रीबाट यस्ता कुरा आउनु दुःखद् भएको भन्दै गिरीले त्रुटि सच्याउनुपर्ने बताए । प्रधामन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने भनाइ उनको थियो । “यो सदनका अघि आएर उहाँले माफी माग्नुपर्छ । नभएसम्म हामी अघि बढ्न सक्ने अवस्था रहँदैन,” गिरीले बैठकमा भने । सदन अवरोध गर्न एमालेलाई साथ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रियता र सार्वभौम राज्यको स्वाधिनतासँग जोडिएको विषयमा जनताले बुझ्ने गरी प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले एयर रूट ल्याउँछु भन्ने प्रधानमन्त्रीले भैँसी किन लिएर आएको भन्दै व्यंग गरे ।
“बंगलादेशसँगको रूटका लागि हाम्रो भूभाग जुन भारतसँग सिमा विवाद छ, लिलुपेलक, लिम्पियाधुरा, कालापानी क्षेत्र साटेको भन्ने खबरहरू मैले पनि देखेँ । जुन उहाँको अधिकार भएको क्षेत्र नै हैन । यसमा हाम्रो गहिरो चिन्ता छ र यसमा प्रधानमन्त्रीले हामीलाई जवाफ दिनुपर्छ,” श्रेष्ठले भने, “हामीलाई लागेको थियो, प्रधानमन्त्रीले नयाँ एयर रूट ल्याउनुहुनेछ र हाम्रा विमानस्थल सञ्चालनमा आउनेछन् । तर उहाँले त भैँसी पो लिएर आउनुभयो । भारत पक्षले राजकीय नमानेको भारत भ्रमण कसरी फलदायी भ्रमण भयो र ? देशको सार्वभौम सत्ता र देशको स्वाधिनतासँग जोडिएको विषय भएकाले उहाँले संसद्मा चित्तबुझ्दो जवाफ दिनुपर्छ ।”